संयुक्त प्रेस विज्ञप्ति

स्थानीय निकाय केन्द्रीय समन्वय समिति
(जिल्ला विकास समिति महासंघ नेपाल, नेपाल नगरपालिका संघ र गाउ“ विकास समिति राष्ट्रिय महासंघ नेपाल)

संयुक्त प्रेस विज्ञप्ति
६ माघ २०६८

राज्य पुनर्संरचना आयोगले प्रतिवेदन तयारीका क्रममा “दुई तहका सरकार राख्ने र स्थानीय सरकारको संवैधानिक हैसियत नहुने” भन्ने व्यहोराको प्रस्ताव तयारी गरी रहेको २०६८ माघ ६ गतेको कान्तिपुर लगायत अन्य दैनिक पत्र–पत्रिकामा प्रकाशित समाचारप्रति स्थानीय निकायका संघमहासंघहरु, जिल्ला विकास समिति महासंघ नेपाल, नेपाल नगरपालिका संघ र गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
अधिकार र जिम्मेवारी सहितको स्थानीय स्वायत्त सरकारको प्रष्ट संवैधानिक व्यवस्थाको प्रत्याभूत गरिनुपर्दछ भन्ने संविधानसभा बिषयगत समितिका सर्वसम्मत प्रस्तावहरु, राजनीतिक दलहरुको बारम्बारको प्रतिबद्धता, स्थानीय निकायका संघ महासंघहरु, सरोकारवाला निकायहरु र आम जनताले निरन्तर गरिरहेको माग र धारणाको बिरुद्धमा स्थानीय सरकारलाई संवैधानिक निकायका रुपमा व्यवस्था नगरी प्रदेशको क्षेत्राधिकारमा छोड्ने भन्ने चिन्तन र सोंचप्रति हामी खेद व्यक्त गर्दछौं र यसलाई सच्याई संघीय संविधानबाटै स्थानीय सरकार सहितको तीन तहको लोकतान्त्रिक संघीय ढाँचामा राज्यको पुनर्संरचनालाई मूर्तरुप दिन हामी जोडदार माग गर्दछौं ।
स्थानीय सरकारलाई संघीय संविधानतः नै सुनिश्चित नगरिंदा ती निकायहरु स्वायत्त हुन नसक्ने र माथिल्ला निकायबाट निरन्तर हस्तक्षेप भइरहने हुँदा नागरिकहरुको राज्यका शासन इकाईबाट पाउने सेवा समेत अवरुद्ध हुने भई शासन व्यवस्थाप्रति समेत अपनत्व कम भई राजनीतिक अस्थिरता निरन्तर रहन्छ ।
स्थानीय सरकारलाई प्रदेश अधिनस्थ बनाउन खोज्ने प्रस्तावले राज्यको शासन व्यवस्था र सार्वभौमसत्ताको प्रयोगमा आम नागरिकलाई सहभागी गराउन नसक्ने, समावेशी शासन र विकासको मुद्दा सम्बोधन नहुने, जनताको नजिकको स्थानीय सरकारबाट सेवा पाउनुपर्ने अधिकार कुष्ठित हुने र संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकासमा समेत बाधा सिर्जना गर्ने निश्चित छ । यस्तो चिन्तन नितान्त केन्द्रिकृत मानसिकताको उपज बाहेक अरु केही हुन सक्दैन । अतः संघीय संविधानतः नै अधिकार र जिम्मेवारीसम्पन्न लोकतान्त्रिक स्थानीय स्वायत्त सरकारको स्थापना र संस्थागत विकास गर्ने कुरा प्रत्याभूत गर्न सम्वन्धित सबै पक्षमा हार्दिक आग्रह गर्दछौ । अन्यथा जनताको नजिकको स्थानीय सरकारको स्वायत्तता र प्रष्ट संवैधानिक व्यवस्थाका लागि सम्भावित बृहत आन्दोलनको जिम्मेवार सम्बन्धित पक्ष हुनुपर्नेतर्फ समेत हामी समयमै सचेततापूर्वक ध्यानाकर्षण गराउँदछौं ।

ऋषिराज लुम्साली डोरमणी पौडेल महिन लिम्बु
अध्यक्ष अध्यक्ष अध्यक्ष
जिल्ला विकास समिति महासंघ नेपाल नेपाल नगरपालिका संघ गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपाल

Be the first to comment

Leave a Reply